कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, ५ असार – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये तीन लाख ३२ हजार २४१ जना नियमित तथा ८५ हजार ९२९ जना आंशिकतर्फका परीक्षार्थी रहेका थिए।

सरकारले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। बोर्डले तोकिएको समयसीमाभन्दा अगावै नतिजा प्रकाशन गर्न सफल भएको जनाएको छ। यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक माध्यमबाट नतिजा हेर्न आग्रह गरेको छ।

Facebook Comments Box