चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं, ३ असार – चीनको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत जेठ ३१ गते चीन भ्रमणमा गएका मन्त्री खनाल बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे गहन तथा उपलब्धिमूलक छलफल भएको मन्त्री खनालले बताएका छन्।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच साझा समझदारी रहेको छ। वार्ताका क्रममा पूर्वाधार, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलीकरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले विगतमा भएका सहमति तथा परियोजनाको प्रभावकारी कार्यान्वयन र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

