फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीच १–१ को बराबरी
काठमाडौँ, ३० जेठ – फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेलेका छन्। क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्। खेलको सुरुआती अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो।
खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा सोही अग्रता कायम राखेको टोलीले दोस्रो हाफमा भने आफ्नो लय जोगाउन सकेन। खेलको ७८औँ मिनेटमा क्यानडाका काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल १–१ को बराबरीमा सकियो।
यस नतिजासँगै समूह ‘बी’ मा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले समान एक–एक अंक जोडेका छन्। विश्वकपअन्तर्गत आजै हुने अर्को खेलमा समूह ‘डी’ का आयोजक अमेरिका र पाराग्वे आमनेसामने हुनेछन्। उक्त खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ।

