एसईई पुनर्योगका लागि ३३ हजारको निवेदन

काठमाडौं, ९ जेठ –  माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तरपुस्तिका खोज्ने काम सुरु गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड ले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजाप्रति चित्त नबुझेपछि ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार विद्यार्थीले दिएको निवेदनका आधारमा सम्बन्धित उत्तरपुस्तिका खोज्ने कार्य सुरु भइसकेको छ।

उनले पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जानकारी दिँदै बोर्ड पूर्ण क्षमताका साथ काम गरिरहेको बताए।

अधिकारीले भने, “उत्तरपुस्तिका खोज्ने कार्य सुरु भइसकेको छ। नतिजा प्रकाशन हुन केही समय लाग्नेछ। हामी कुनै बिदा उपयोग नगरी बिहान–साँझ पूर्ण क्षमताका साथ कार्य गरिरहेका छौँ, त्यसैले केही समय धैर्य गरिदिन अनुरोध गर्दछु।”

उनका अनुसार पुनर्योगको नतिजा सार्वजनिक भएपछि विद्यार्थीले आफ्नो उत्तरपुस्तिका पनि हेर्न पाउनेछन्। त्यसपछि पुनःपरीक्षणका लागि समेत निवेदन दिन सकिने व्यवस्था गरिनेछ।

“पुनर्योगको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिका हेर्नका लागि सूचना प्रकाशित गरिनेछ,” अधिकारीले भने, “उत्तरपुस्तिका हेरिसकेपछि सोही प्रक्रियासँगै पुनःपरीक्षणका लागि पनि निवेदन दिन सकिने व्यवस्था गरिनेछ।”

यस वर्षको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका थिए।

गत चैत २९ गते सम्पन्न एसईई परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा सात जना अन्य विद्यार्थी सहभागी रहेका थिए।

Facebook Comments Box