कोशी, बागमती र गण्डकीमा बदली र वर्षा, तराईमा गर्मी बढ्ने
काठमाडौं, ७ जेठ – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ । मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ । मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

