कंगोमा इबोला संक्रमणबाट ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं,  ३ जेठ – अफ्रिकी मुलुक कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरस संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ भने २४६ जना शंकास्पद बिरामीको निगरानीमा रहेका छन् । विश्व स्वास्थ्य संगठनले इबोला संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । यद्यपि संगठनले यसलाई महामारी भने नभएको स्पष्ट पारेको छ ।

कंगोका स्वास्थ्य मन्त्री समुएल–रोजर काम्बाका अनुसार पहिलो इबोला संक्रमणका कारण गत अप्रिल २४ मा एक नर्सको मृत्यु भएको विश्वास गरिएको छ । हालसम्म गरिएको परीक्षणमा इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिका आठ वटा संक्रमण पुष्टि भएका छन् । संक्रमण इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोङवालु क्षेत्रमा फैलिएको जनाइएको छ ।

इबोला भाइरस पहिलोपटक सन् १९७६ मा कंगोमै पत्ता लागेको थियो । यो देशमा इबोला संक्रमण फैलिएको १७औँ घटना हो । विज्ञहरूका अनुसार यसपटक देखिएको ‘बुन्डिबुग्यो’ प्रजाति यसअघि कंगोमा धेरै देखिने ‘जायर’ प्रजातिभन्दा फरक रहेको छ । यसले स्वास्थ्य क्षेत्रमा थप चिन्ता बढाएको छ, किनभने हाल प्रयोग भइरहेका अधिकांश उपचार पद्धति र खोप ‘जायर’ प्रजातिलाई आधार बनाएर विकास गरिएको बताइएको छ ।

Facebook Comments Box