‘देवभूमि नेपाल’ अभियानमार्फत आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने सरकारको घोषणा
काठमाडौँ, २९ वैशाखः – सरकारले नेपाललाई विश्वस्तरको आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। रामचन्द्र पौडेल ले सोमबार सङ्घीय संसद् मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको हो।
नीति तथा कार्यक्रममा पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम तथा मुक्तिनाथ क्षेत्रको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। तीर्थ कूटनीतिमार्फत नेपालका प्रमुख धार्मिक क्षेत्रको अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिने उल्लेख गरिएको छ।सरकारले धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनलाई उदाउँदो पर्यटन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारेको छ।
त्यसैगरी, समुदायमा आधारित घरबास (होमस्टे) कार्यक्रमलाई रोजगारी र आयआर्जनसँग जोड्ने नीति लिइएको छ। स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आर्थिक सशक्तीकरणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘जीवित सङ्ग्रहालय’ अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गरिने सरकारको योजना रहेको छ।

