एसईई नतिजा भोलिसम्म सार्वजनिक गर्ने तयारी
काठमाडौँ, २८ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि (मंगलबार) सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका एक अधिकारीका अनुसार विभिन्न जिल्लाबाट प्राप्त अंक रुजु गरी कम्प्युटरमा प्रविष्ट गर्ने काम पूरा भइसकेको छ। अब प्राविधिक टोलीलाई तथ्याङ्क हस्तान्तरण गरिने र कुनै प्राविधिक समस्या नदेखिए भोलिसम्म नतिजा प्रकाशन गरिने तयारी रहेको जनाएको छ।
विगतका वर्षमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा सार्वजनिक हुने गरे पनि यस पटक पहिलोपटक एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुरुमा १५ दिनभित्र नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गरेको थियो। तर हतार गर्दा त्रुटि हुन सक्ने निष्कर्षपछि शिक्षा मन्त्रालय र बोर्डबीच बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने सहमति भएको बताइएको छ।
यस वर्ष नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने जाँच कार्यमा अतिरिक्त जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ। यस वर्षको एसईई परीक्षा चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षाका लागि देशभरबाट पाँच लाख १२ हजार ४२१ जनाले आवेदन दिएका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र रहेका छन्। बोर्डका अनुसार वास्तविक रूपमा परीक्षामा सहभागी परीक्षार्थीको अन्तिम विवरण भने नतिजा प्रकाशनकै दिन सार्वजनिक हुनेछ।

