कतारनजिक मालवाहक जहाजमा ड्रोन आक्रमण, कतारद्वारा निन्दा
काठमाडौँ, २८ वैशाख – कतारको विदेश मन्त्रालय ले राजधानी दोहा नजिकको जलक्षेत्रमा मालवाहक जहाजमाथि भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आइतबार बिहान मेसाइद बन्दरगाह को उत्तरपूर्वी क्षेत्रमा कतारी जलक्षेत्र हुँदै गइरहेको मालवाहक जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार आक्रमणपछि जहाजमा सामान्य आगलागी भएको थियो। तर घटनामा कुनै मानवीय क्षति वा घाइते भएको विवरण प्राप्त नभएको जनाइएको छ। कतारले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन तथा क्षेत्रीय तनाव बढाउने खतरनाक गतिविधि भएको टिप्पणी गरेको छ।
यसअघि इरान ले कतारनजिक अमेरिकी मालवाहक जहाजमाथि हमला भएको दाबी गरेको थियो। इरानी समाचार एजेन्सी फार्स समाचार एजेन्सी तथा सरकारी सञ्चारमाध्यमले आक्रमणमा परेको जहाज अमेरिकी स्वामित्वको र अमेरिकी झण्डा बोकेको रहेको बताएका छन्।

