सरकारले आजदेखि ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने
काठमाडौँ, २८ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थामा पनि सरसफाइ तथा वातावरणमैत्री कार्यसंस्कृति प्रवर्द्धन गरिने जनाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह को सचिवालयका अनुसार यस अभियानमा सक्रिय सहभागिताका लागि सबै सरकारी निकायलाई निर्देशन दिइएको छ। अभियानको औपचारिक उद्घाटन आज बिहान ८:३० बजे वीर अस्पताल मा हुने तय भएको छ। कार्यक्रममा निशा मेहता को उपस्थिति रहने जनाइएको छ।
सरकारले जारी गरेको सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३ अनुसार सरकारी कार्यालयमा न्यून लागतमा प्रभावकारी सरसफाइ मापदण्ड लागू गर्ने लक्ष्य राखिएको छ। मार्गदर्शनमा सूचना बोर्ड, नागरिक बडापत्र तथा सङ्केत चिह्न स्पष्ट र व्यवस्थित राख्नुपर्ने, चर्किएका भित्ताको मर्मत तथा रङरोगन गर्नुपर्ने र कार्यालय परिसर सफा तथा आकर्षक राख्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, शौचालय दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने तथा महिलामैत्री र सम्भव भएसम्म अपाङ्गतामैत्री सुविधा सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ। कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका फोहोरदानी राख्नुपर्ने र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
कार्यालय परिसर वरपरको नाली तथा ढल सफा राख्ने, पार्किङ व्यवस्थापन सुधार गर्ने तथा अव्यवस्थित तार र पोस्टर हटाउने विषय पनि मार्गदर्शनमा समेटिएको छ। सेवाग्राहीलाई सहज वातावरण दिन सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्नसमेत निर्देशन दिइएको छ।
अभियानलाई दीगो बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने, साप्ताहिक सरसफाइ कार्यतालिका बनाउने तथा मासिक स्वमूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ। अभियानको अनुगमन र कार्यान्वयनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

