सरकारले सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सञ्चालन गर्ने
काठमाडौँ, २६ वैशाख – बजारमा बढ्दो अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय को संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान सुरु गर्न लागिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाह की प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल ले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार सप्ताहव्यापी अभियानले बजारमा हुने गलत गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अभियान सोमबारदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई कार्यान्वयनका लागि निर्देशन दिइसकेको जनाएको छ। अभियानअन्तर्गत प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गर्ने र नियमित अनुगमन गर्नेछन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिलाई सक्रिय बनाएर मूल्य पारदर्शितासम्बन्धी प्रचारप्रसार र नियमन प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ। केन्द्रीय बजार अनुगमन समिति तथा प्रदेशस्तरीय समितिले बजार मूल्याङ्कन, अनुगमन टोली परिचालन र नियम उल्लङ्घन गर्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ।
सरकारका अनुसार बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने गुनासा बढेकाले मूल्य स्पष्टता, व्यापारीको जवाफदेहिता र प्रभावकारी अनुगमन सुनिश्चित गर्न अभियान सञ्चालन गर्न लागिएको हो।

