नीति तथा बजेट निर्माणमा नागरिक सहभागिताका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन

सप्तरी, २७ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी गरिरहेको बेला नागरिकका आवश्यकता र अपेक्षा समेट्न डिजिटल प्लेटफर्म सुरु गरिएको प्रधानमन्त्रीको सचिवालय ले जनाएको छ।

पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण, विकासका प्राथमिकता तथा नीतिगत विषयमा आफ्ना राय–सुझाव दिन सक्नेछन्। दीपा दाहाल का अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक सीमाभित्र मात्र नराखी जनभावना र विज्ञताको सम्मान गर्ने उद्देश्यले यो पोर्टल सञ्चालनमा ल्याइएको हो।

उहाँले यसले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। पोर्टलमा प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीर रूपमा समीक्षा गरी आवश्यक सुझावलाई नीतिगत रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको पनि जनाइएको छ।

यसका साथै, नागरिकले आफूले दिएको सुझावको अवस्थाबारे जानकारी लिन सक्ने ‘सुझाव ट्र्याक’ सुविधा पनि पोर्टलमा समावेश गरिएको छ। सरकारले ‘समृद्ध नेपाल’ निर्माणमा रचनात्मक योगदान दिन सबै नागरिकलाई यस पहलमा सहभागी हुन आग्रह गरेको छ।

Facebook Comments Box