निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय नमान्ने ६ संगठनको घोषणा

काठमाडौं, २२ वैशाख  – सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि ६ वटा कर्मचारी संगठनहरूले उक्त कदम अस्वीकार गर्ने घोषणा गरेका छन्। सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्चस्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले सरकारको निर्णयलाई स्वेच्छाचारी भन्दै खेद प्रकट गरेका हुन्।

उनीहरूले नेपालको संविधानको धारा १७ र ३४, प्रचलित श्रम तथा ट्रेड युनियनसम्बन्धी कानुन, साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय श्रम महासन्धिहरूले श्रमिकलाई दिएको संगठन बनाउने अधिकारको उल्लङ्घन भएको बताएका छन्।

संगठनहरूले संघीय निजामती सेवा ऐन तत्काल जारी गरी कर्मचारीहरूको वृत्तिविकास सुनिश्चित गर्न पनि माग गरेका छन्। साथै, खारेज गरिएको ट्रेड युनियन अधिकार पुनःस्थापना गर्न आवश्यक परे कानुनी लडाइँमा जाने चेतावनी दिएका छन्।

यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले वैशाख १४ गते केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशलाई रामचन्द्र पौडेलले वैशाख २० गते प्रमाणीकरण गरेपछि दशकौँदेखि कायम कर्मचारी ट्रेड युनियन व्यवस्था खारेज भएको हो।

Facebook Comments Box