शनिबार देखि सुकुम्बासी बस्ती हटाइने : काठमाडौँ प्रशासन
काठमाडौं, ११ वैशाख – जिल्ला प्रशासन कार्यालय, काठमाडौँ ले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा हटाइने जनाएको छ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा बनाइएका घर टहरा खाली गरिने उल्लेख छ। यसका लागि शुक्रबार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न निर्देशन दिइएको छ।
सूचनामा भनिएको छ, “अवैध रूपमा निर्माण गरिएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेसम्म खाली गर्नुहोला।” निर्धारित समयभित्र खाली नगरे शनिबार बिहान ६ बजेदेखि घर टहरा भत्काइने प्रशासनले जनाएको छ।
“मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ,” सूचनामा उल्लेख छ। प्रशासनले उक्त कार्यमा अवरोध पुर्याए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

