आज आमाको मुख हेर्ने औँसी देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै
काठमाडौं, ४ वैशाख – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। यस दिन जन्मदात्री आमालाई सम्मान गर्दै मीठा परिकार खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहिआएको छ।
शास्त्रीय मान्यताअनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि आमालाई उच्च स्थान दिइएको छ। त्यसैले यो दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्ने विशेष अवसरका रूपमा लिइन्छ। छोराछोरीले बिहानै स्नान गरी आमालाई मिठा–मिठा तथा तागतिला खानेकुरा खुवाउने र सम्मानपूर्वक आशीर्वाद लिने चलन छ। आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा निर्वाह गर्छन्।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का सदस्य प्रा. डा. देवमणि भट्टराई का अनुसार वैदिक परम्परामा प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने मान्यता छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्व अत्यन्त उच्च रहेको बताइन्छ।
नौ महिना गर्भमा राखेर सन्तानलाई जन्म दिने भएकाले आमाको महत्व अरूभन्दा बढी मानिएको शास्त्रमा उल्लेख छ। त्यसैले जीवित आमालाई सम्मानपूर्वक सेवा गर्ने र दिवङ्गत आमाको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्ने चलन रहेको बताइन्छ। यसै अवसरमा मातातीर्थ मा आज विशेष मेला लाग्ने गर्दछ। चन्द्रागिरि नगरपालिका का नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

