आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
काठमाडौं, २९ चैत – मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ को महासभाले सन् २०११ अप्रिल ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १२ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
यो दिवसले अन्तरिक्ष विज्ञान र प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो विकास लक्ष्य हासिल गर्न र जनजीवन सुधारमा यसको प्रयोगमा जोड दिन्छ । सन् १९६१ अप्रिल १२ मा सोभियत संघका युरी गागरिन ले पहिलोपटक अन्तरिक्ष उडान सफल पार्दै पृथ्वीको परिक्रमा गरेका थिए । यस घटनालाई मानव अन्तरिक्ष यात्राको सुरुवातका रूपमा लिइन्छ ।
यसअघि सन् १९५७ मा ‘स्पुतनिक-१’ नामक पहिलो मानव निर्मित उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो, जसले अन्तरिक्ष अन्वेषणको ढोका खोलेको थियो । त्यसपछि सन् १९६३ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्ष पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ मा नील आर्मस्ट्रङ ले चन्द्रमामा पाइला टेकेर नयाँ इतिहास रचेका थिए ।
सन् १९७५ मा अपोलो र सोयुज अन्तरिक्ष यानको संयुक्त अभियानले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु गरेको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषणलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्ति मानेर यसको लाभ सबै देशमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।

