बाँदर आतङ्कले भोजपुरमा खेतीयोग्य जमिन बाँझिँदै
भोजपुर, ११ चैत – बाँदरको बढ्दो आतङ्कका कारण भोजपुरमा खेतीयोग्य जमिन बाँझिँदै जाने क्रम तीव्र बनेको छ। अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवार वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ गर्न थालेका छन्।
स्थानीय कृषकका अनुसार बाँदरहरू समूहमा आएर पाक्न लागेको बाली लक्षित गरी नष्ट गर्ने गर्छन्। खेत वरिपरि कराउँदै धपाउने प्रयास गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण कठिन बनेको छ। कतिपय किसानले डर देखाउने आकृति बनाउने, पालैपालो खेत कुर्ने जस्ता उपाय अपनाए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
विशेषगरी मानेभञ्ज्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ मा समस्या झन् गम्भीर छ। स्थानीयका अनुसार करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ सुनसानजस्तै बनेको छ। अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायत बस्तीहरूमा अधिकांश घर खाली र जीर्ण अवस्थामा पुगेका छन्।
पहिले हराभरा देखिने खेतबारी अहिले बाँझो छन् भने कान्ला र पाखा झाडीले ढाकिँदै गएका छन्। कतिपय स्थानमा बारी जङ्गलमा परिणत हुन थालेको छ, जसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ। किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता बाली बाँदरले नष्ट गरिदिने गरेको छ। “मेहनत गरेर लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ, दिनभरि खेत कुर्न सकिँदैन,” स्थानीयको गुनासो छ।
जिल्लाका अन्य स्थानीय तहमा पनि समस्या उस्तै गम्भीर रहेको बताइन्छ। कृषि नै मुख्य आम्दानीको स्रोत भएका ग्रामीण परिवार आर्थिक रूपमा मारमा परेका छन्। युवापुस्ता रोजगारीका लागि बाहिरिँदा बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतीको जिम्मेवारी बढे पनि बाँदर आतङ्कले उनीहरू निरुत्साहित बनेका छन्।
वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या झन् चर्को रहेको सरोकारवालाको भनाइ छ। मानव बस्ती घट्दै जाँदा बाँदर बाँकी रहेका बस्तीमा केन्द्रित हुने प्रवृत्ति बढेको छ। दीर्घकालीन समाधानका लागि प्रभावकारी नीति, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधि आवश्यक रहेको स्थानीयको माग छ। साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा किसानहरूले जोड दिएका छन्।

