मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
महोत्तरी, १० चैत – महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। चार दिनसम्म मनाइने यस पर्व आइतबार चतुर्थी तिथिदेखि सुरु भएको हो। आज षष्ठी तिथिको मुख्य दिनमा व्रतालुहरू विभिन्न जलाशयमा पसेर अस्ताउँदो सूर्यको पूजा गर्दै अर्घ अर्पण गरिरहेका छन्।
व्रतालुहरूले घरमै तयार पारिएका ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका परिकार, फलफूल तथा पूजा सामग्री लिएर छठ घाटमा पुग्छन्। साँझपख पानीमा उभिएर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्दै अर्घ दिने परम्परा रहेको छ।मिथिला क्षेत्रका जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, रामगोपालपुर, बलवा, भङ्गाहलगायत स्थानका पोखरी, नदी र तलाउ किनारमा श्रद्धालुको ठूलो भीड लागेको छ।
पर्वको विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्नु हो। भोलि बिहान पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिँदै पर्व सम्पन्न गरिनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि तथा आरोग्यको कामनासहित मनाइने यस पर्वले सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि दिन्छ। पछिल्ला वर्षहरूमा काठमाडौँ लगायत देशका विभिन्न सहरमा पनि छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको छ।

