चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ, ५ चैत – चैते दसैँ अन्तर्गत पर्ने चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि नवरात्र सुरु भएको छ। यससँगै देशभर देवी–देवताप्रतिको श्रद्धा र आस्थाका साथ पूजाआराधना सुरु गरिएको छ। राजधानी काठमाडौँ स्थित हनुमानढोका दरबार मा आज बिहान शुभ साइतमा घटस्थापना गरी नवदुर्गा देवीको विधिपूर्वक पूजा गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७ः५१ बजे घटस्थापनाको उत्तम साइत रहेको थियो।

चैत्र नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने परम्परा छ। यो नवरात्र विशेष गरी शक्ति उपासना, साधना र मनोकामना पूरा हुने विश्वाससँग जोडिएको छ। धार्मिक मान्यताअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गर्छन्, जसमा चैत्र र आश्विन नवरात्र विशेष रूपमा मनाइन्छ। चैत्र नवरात्रलाई चैते दसैँका रूपमा मनाइने गरिन्छ, जुन विशेष गरी देवी दुर्गाको आराधनामा केन्द्रित पर्व हो।

Facebook Comments Box