निर्वाचन अवधिमा निष्पक्ष र उत्तरदायी बन्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ, १२ फागुन – प्रेस काउन्सिल नेपालले निर्वाचन अवधिभर आमसञ्चारमाध्यमलाई पूर्ण रूपमा निष्पक्ष र उत्तरदायी बन्न आग्रह गरेको छ । काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पत्रकार आचारसंहितासहित निर्वाचन आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष अनुगमन भइरहेको जनाएको छ ।
काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यमबाट ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ र ‘सर्वेक्षण’ शीर्षकमा मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गरी मतदातालाई प्रभावित पार्ने सामग्री सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
‘यो उम्मेदवारले जित्ने’, ‘फलाना उम्मेदवार अगाडि’, ‘लहर छ/छैन’, ‘डेन्जर जोनमा’ जस्ता अभिव्यक्तिसहित प्रकाशित सामग्रीले मतदाताको मनोभावनामा असर पार्ने र दिग्भ्रमित गर्ने जोखिम रहेको काउन्सिलको भनाइ छ । त्यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै आचारसंहिता प्रतिकूल देखिएका विषयलाई निगरानीमा राखिएको जनाएको छ ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले प्रेस स्वतन्त्रताको नाममा सम्प्रेषित सामग्रीले कसैलाई लाभ वा हानि पुग्न सक्ने भएकाले सञ्चारमाध्यम र पत्रकार थप जिम्मेवार, मर्यादित र तटस्थ हुनुपर्ने बताउनुभयो । निर्वाचन सफल बनाउन सञ्चार क्षेत्रको विशेष भूमिका हुने उल्लेख गर्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित र आचारसंहिताअनुरूप सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ । साथै आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न तथा मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न ध्यानाकर्षण गराइएको छ ।

