अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
नवलपरासी, २६ माघ – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौली क्षेत्रमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडकखण्डमा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।
दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उहाँका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

