बैतडी बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई एक/एक लाख राहत

काठमाडौँ, २३ माघ – बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ। बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Facebook Comments Box