निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा आज उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो ।

आयोगका अनुसार दर्ता भएका मनोनयन पत्र र उजुरीमाथि माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ ।

सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म कुल दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ । मनोनयन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनका बाँकी कार्यक्रम पनि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैको सहयोगमा सहज रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारीमध्ये महिला तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ जना र पिछडिएको क्षेत्रका एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Facebook Comments Box