झापाको पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
झापा, ३ माघ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो।
झापाका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेललाई दिइएको छ। जिल्लाका बाँकी चार निर्वाचन क्षेत्रमा पनि शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ। यस क्षेत्रमा गोपी विश्वकर्मा निर्वाचन अधिकृत र टेकबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहनुभएको छ।
यस्तै, निर्वाचन क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको कार्यालयमा राखिएको छ। यस क्षेत्रमा महेश खत्री निर्वाचन अधिकृत र शुक्रराज वान्तवा सहायक निर्वाचन अधिकृत हुनुहुन्छ।
निर्वाचन क्षेत्र नं ४ को निर्वाचन अधिकृतको कार्यालय कनकार्य नगरपालिका–१ स्थित तुरसा हेमरम प्रतिष्ठानको कार्यालयमा स्थापना गरिएको छ। सो क्षेत्रमा भिमप्रसाद भुर्तेल निर्वाचन अधिकृत र क्षेत्रनाथ शर्मा सहायक निर्वाचन अधिकृत रहनुभएको छ।
निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिका–८ स्थित अग्र्यानिक कृषि केन्द्रको भवनमा स्थापना गरिएको छ। यस क्षेत्रमा विदुरकुमार कार्की निर्वाचन अधिकृत र जीतबहादुर श्रेष्ठ सहायक निर्वाचन अधिकृत रहनुभएको छ।
मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार झापामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेकोमा महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेका छन्।
उहाँका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक ४९ मतदान केन्द्र र ५० हजार २२६ मतदाता थपिएका छन्।

