भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित
गुल्मी, २९ पुस – गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेमा कृषकहरू व्यावसायिक किबीखेतीतर्फ आकर्षित हुँदै गएका छन्। किबी बिक्रीबाट यहाँका कृषकले वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। विसं २०६५ देखि किबीखेती सुरु गरिएको भार्सेमा हाल बारीहरू किबीले ढपक्कै ढाकिएका छन्।
व्यावसायिक उत्पादन थालेपछि कृषकको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। जिल्लामै सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकाका रूपमा सत्यवती गाउँपालिका चिनिँदै आएको छ। यस पालिकाको भार्से क्षेत्रमा ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक खेती भइरहेको छ। यस वर्ष मात्र ८० टनभन्दा बढी किबी उत्पादन भएको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिनुभयो।
भार्सेमा उत्पादन भएको किबी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म बिक्री हुँदै आएको छ। बजारमा पाइने किबीको तुलनामा यहाँ उत्पादित किबीको खुद्रा मूल्य प्रतिकिलो २०० देखि ३०० रुपैयाँसम्म रहेको छ। किबीखेती नै हाल भार्सेका कृषकको मुख्य आम्दानीको स्रोत बनेको छ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको ‘पकेट क्षेत्र’ घोषणा गरेपछि उत्पादनमा कृषकको आकर्षण अझै बढेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्राविधिक सहयोग, तालिम, बिरुवा वितरण, खम्बा निर्माण र सिँचाइजस्ता क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो।
गत वर्ष गाउँपालिकाले नर्सरी स्थापना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिमसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो। व्यावसायिक किबीखेती गर्दै आएका कृषक यमबहादुर थापाका १५० वटा बोटले फल दिन थालेका छन्। अघिल्लो वर्षको तुलनामा उत्पादन केही घटे पनि बजार मूल्य सन्तोषजनक रहेको उहाँले बताउनुभयो। उहाँको बारीमा रेड किबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन्।
हाल भार्सेका कृषकले पाँच वटा किबी समूह गठन गरी सामूहिक रूपमा उत्पादन गर्दै आएका छन्। सबैभन्दा बढी उत्पादन गर्ने समूहमा ठूलापोखरी समूह पर्दछ। रोपेको तीन वर्षमै फल दिन सुरु गर्ने भएकाले किबीखेती कृषकको रोजाइमा परेको वडाध्यक्ष होमबहादुर रानाले बताउनुभयो। एक बोटबाट ६० देखि १२० किलोसम्म किबी फल्ने गरेको उहाँको भनाइ छ।
बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य बाली जोगाउन समस्या भइरहेका बेला किबीखेती सुरक्षित र लाभदायी बनेको कृषकहरू बताउँछन्। किबीको झुसिलो बनावटका कारण वन्यजन्तुले खासै क्षति नगर्ने गरिएको छ। गुल्मी जिल्लामा एक हजार २०० देखि दुई हजार मिटर उचाइसम्म किबीखेती हुँदै आएको छ।
सत्यवतीसँगै कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोट, मुसिकोटलगायत पालिकामा पनि पछिल्लो समय किबीको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। पौष्टिक तत्वले भरिपूर्ण किबी फल स्वास्थ्यका लागि उपयोगी मानिने भएकाले यसको माग पनि बढ्दो क्रममा रहेको छ।

