निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रियसभा उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौँ, २४ पुस – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको हो।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ। निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्ने व्यवस्था रहेको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुनेछ।

Facebook Comments Box