निर्वाचन ६४ दिन बाँकी : ६४ दलले समानुपातिक बन्दसूची पेस
काठमाडौँ, १६ पुस – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूची पेस गर्ने दलहरूमध्ये ५४ वटा दलले आफ्नै निर्वाचन चिह्नमा तथा १० वटा राजनीतिक दलले चारवटा एकल निर्वाचन चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी बन्दसूची दर्ता गराएका हुन् ।
संविधानअनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ । यसैबीच, निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजातको सूची सार्वजनिक गरेको छ ।
आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुट दिइने आयोगले जनाएको छ । आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ ।
त्यसैगरी उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर तथा जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको स्वघोषणापत्र, लाभको पदमा नरहेको स्वघोषणा, जिम्मेवारीमा रहेको भए राजीनामा दिएको निस्सा तथा मनोनयनपत्र पेस गर्नुपर्नेछ ।
यदि २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको कागजात पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन तयारीस्वरूप सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको र निर्वाचन कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको जनाएको छ । राजनीतिक दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेका छन् ।

