कर्णाली, २५ मङ्सिर – कर्णाली प्रदेश सरकार तथा सरोकारवालाहरूसँग मिलेर प्रदेशको समग्र विकासका लागि पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रमा सहभागीहरुले संयुक्त प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाका लक्ष्यहरू हासिल गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताए। उनले कर्णालीको दीगो समृद्धिका लागि सबै क्षेत्रको सहयोग आवश्यकीय हुने उल्लेख गरे।
पाँच बुँदामा समेटिएका प्रमुख प्रतिबद्धताः
-
विकास आयोजना कार्यान्वयनमा दोहोरोपन हटाउने र विकास साझेदारबाट सञ्चालन हुने कार्यक्रमको विवरण बजेट तर्जुमा अघि नै सम्बन्धित मन्त्रालयमा उपलब्ध गराउने।
-
सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिँदै प्राकृतिक स्रोत–साधनको दिगो उपयोगमा जोड दिने।
-
प्रादेशिक समन्वय संरचना निर्माण गरी सरकार र विकास साझेदारबीच प्रभावकारी सहकार्यलाई प्रवर्द्धन गर्ने।
-
प्राविधिक सीप, तालिम, उद्यमशीलता र युवा रोजगारीलाई प्राथमिकता दिँदै कर्णालीका युवालाई प्रदेशमै टिकाइ राख्न आवश्यक अवसर विस्तार गर्ने।
-
पर्यटन क्षेत्रको विकास र प्रमोशनमा लगानी विस्तार गर्दै सम्भाव्य गन्तव्यहरूको प्रचार–प्रसारलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत थप प्रभावकारी बनाउने।
यसबाहेक, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउने कार्यमा सबै क्षेत्रको रचनात्मक सहयोग आवश्यक रहेको जोड दिइयो। कार्यक्रममा सहभागीहरूले विशेषगरी मिडियाको भूमिका कर्णालीको विकासमा निर्णायक हुने धारणा पनि व्यक्त गरेका छन्।