अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ, २१ मङ्सिर – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस नेपालसहित विश्वभर मनाइँदैछ। अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रहरूले हरेक वर्ष डिसेम्बर ७ मा हवाई सेवाको विकास, सुरक्षाका मानक र दिगो उड्डयन प्रवर्द्धनका उद्देश्यसहित यो दिवस मनाउने गर्छन्।

सन् १९९४ डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरिएको यो दिवसलाई संयुक्त राष्ट्र सङ्घले सन् १९९६ मा औपचारिक मान्यता दिएको हो। दिवसको अवसरमा हवाई सेवा र प्राविधिक संरचना विस्तारमार्फत विश्वका विभिन्न मुलुकको सामाजिक–आर्थिक विकासमा पुगेको योगदान, मानव यात्रालाई सहज बनाउँदै द्रुत अन्तरराष्ट्रिय यातायात सञ्जाल निर्माणमा आइकाओले खेलेको भूमिकाको स्मरण गरिन्छ।

आगामी २०३० सम्मका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने प्रसङ्गमा विश्वका राष्ट्रहरूलाई प्रभावकारी रूपमा जोड्ने माध्यमका रूपमा नागरिक उड्डयनको भूमिकालाई अझ महत्वपूर्ण मान्दै आइकाओले यस वर्षको दिवसलाई विशेष रूपमा ‘सुरक्षित, दिगो र समावेशी हवाई सेवा’ को सन्देशसहित मनाइने जनाएको छ।

Facebook Comments Box