एनपीएलमा चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली
काठमाडौँ, १६ मङ्सिर – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा कर्णाली याक्स लगातार चौथो हारसँगै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ।
गत सिजन प्लेअफ पुग्न सफल कर्णाली यसपटक एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको हो। मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा टुंगिएको हो।
यसअघिका खेलहरूमा कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हार व्यहोरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै बलियो पुनरागमन गरे पनि तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ४५ रनले पराजित भयो।
चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेटले हार बेहोर्दै दबाब बढेको कर्णाली पाँचौँ खेलमा काठमाडौँसँग पनि ५ विकेटले पराजित भयो।अब कर्णालीले लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
उता कर्णालीलाई हराएसँगै पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना ज्यूँदो रहेको छ। पोखरा अब चितवन राइनोज र काठमाडौं गोर्खाजसँग खेल्दै लिग चरण समापन गर्नेछ। लिगमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटले पराजित भए पनि जनकपुरलाई २५ रनले हराएको थियो।
त्यस्तै, सुदूरपश्चिमसँग १८ तथा विराटनगरसँग ५३ रनले हार बेहोरेको थियो। कर्णालीविरुद्धको जितपछि पोखराले ३ हार र २ जितसहित ४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउँदा कर्णाली १९.४ ओभरमै १६७ रनमा अलआउट भयो। कर्णालीका ओपनर मार्क वाटले ५९ रनको उत्कृष्ट पारी खेले तर टोलीलाई जित दिलाउन सकेनन्।
नजिबुल्लाह जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन योगदान गरे। पोखराका ऋषी धवन र धनन्जय लक्षणले समान ३–३ विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।
यसअघि पहिलो ब्याटिङ गरेको पोखराले २ विकेटको क्षतिमा २०१ रन तयार पार्यो। यो जारी सिजनमा २०० रन पार भएको दोस्रो खेल हो। एडम रोसिङटन ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतमा १०८ रनमा अविजित रहे। उनले ५५ बलमा शतक पूरा गरेका थिए। धनन्जय लक्षण २३ रनमा नटआउट रहे।
दोस्रो विकेटका लागि रोसिङटन र जेसन रोयले ७२ बलमा १२७ रनको साझेदारी गरे, जुन प्रतियोगिताको दोस्रो सर्वाधिक साझेदारी हो। यसअघि विराटनगरका मार्टिन गप्टिल र लोकेश बमले पोखराविरुद्ध दोस्रो विकेटका लागि १३२ रन जोडेका थिए।
जेसन रोय ३४ बलमा ४६ रन बनाउँदै क्याच आउट भए। १७ बलमा १८ रन बनाएका ओपनर कुशल भुर्तेललाई मार्क वाटको बलमा नन्दन यादवले क्याच आउट गरेका थिए। कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए।
एनपीएलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन्। दिउँसो साढे ३ बजे सुरु हुने खेलमा विराटनगरले जित हात पारे प्लेअफ स्थान सुनिश्चित हुनेछ। लुम्बिनीले जित निकाल्न सके प्लेअफ सम्भावना थप बलियो हुनेछ। विराटनगरको हारले काठमाडौँ गोर्खाजलाई फाइदा पुग्नेछ।

