चुनाव प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
काठमाडौं, १ मंसिर – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा चुनावी प्रचार सामग्रीको प्रयोग कडाइका साथ प्रतिबन्धित गरिएको छ।
अब चुनावी प्रचार–प्रसारका क्रममा चुनाव चिन्ह अंकित टोपी, टिसर्ट, ज्याकेट, गम्छा, मास्क, झोला वा अन्य कुनै कपडा वा सामग्री लगाउन वा बोक्न नपाइने भएको छ।
आचारसंहिताको बुँदा नम्बर १३ अनुसार राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिहरूले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा निश्चित आचरणका नियमहरू अनिवार्य रूपमा पालन गर्नुपर्ने हुन्छ।
सभा वा जुलुस गर्दा अनुशासित र सभ्य तरिकाले गर्नुपर्ने उल्लेख छ। कसैको घर वा आसपासमा गई त्यस व्यक्ति वा परिवारका सदस्यहरू विरुद्ध विरोध वा प्रदर्शन गर्न निषेध गरिएको छ।
त्यसैगरी, स्थानीय प्रशासनको अनुमति बिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नपाइने प्रावधान छ। यस्ता गतिविधि गर्नुअघि कम्तीमा २४ घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको जानकारी गराउनुपर्ने हुन्छ।
आचारसंहितामा भनिएको छ, “जुलुस वा आमसभामा सहभागी वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर वा कपडा — टोपी, क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट — लगाउन वा झोला बोक्न नहुने।”
तर, उम्मेदवारले भने कागजमा आफ्नो वा दलको पहिचान उल्लेख भएको पर्चा वितरण गर्न पाउने व्यवस्था यथावत राखिएको छ।

