कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी, २५ कात्तिक – मुस्ताङस्थित कोरला नाकामार्ग हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने धार्मिक तथा पर्यटकीय मार्ग खुलाउने प्रयास सुरु गरिएको छ। यस उद्देश्यका साथ लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरूको टोली चीनको ढोङ्वासेन पुगेको छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर दुई गाउँपालिकाका जनप्रतिनिधि तथा तिब्बती अधिकारीहरूसँग छलफलका लागि टोली गत शुक्रबार चीन पुगेको हो। उक्त टोलीमा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ ल्होमो गुरुङसहित १३ जनप्रतिनिधि सहभागी छन्।

भ्रमण व्यक्तिगत खर्चमा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो। “नेपाल र चीनका सम्बन्धित अधिकारीहरूसँग सहकार्य गरेर कोरला हुँदै मानसरोवरसम्म पुग्ने धार्मिक–पर्यटकीय मार्गको सम्भाव्यता अध्ययन गर्न आएका हौँ,” उहाँले भन्नुभयो, “यो पहल सफल भएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ अध्याय थपिनेछ।”

अध्यक्ष गुरुङका अनुसार कोरला हुँदै कैलाश मानसरोवर पुग्न करिब ३०० किलोमिटर दूरी छ भने ल्हासा करिब १,००० किलोमिटर टाढा पर्छ। यस मार्गबाट चीनका बौद्ध धर्मावलम्बीहरू पनि लुम्बिनी भ्रमण गर्न सक्ने भएकाले दुबै देशका धार्मिक पर्यटनमा फाइदा पुग्ने अपेक्षा गरिएको छ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कोरला मार्ग खुल्दा मानसरोवर दर्शनका लागि छोटो, सहज र कम खर्चिलो यात्रा सम्भव हुनेछ। हाल भारतीय मार्ग हुँदै जाने नेपाली तथा भारतीय तीर्थयात्रीले प्रतिव्यक्ति करिब दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ।

सन् २०२३ (वि.सं. २०८०) कात्तिक २७ गतेदेखि कोरला नाका मुस्ताङवासीका लागि सामान किनमेलका लागि खुला भएको थियो। त्यहाँ अध्यागमन कार्यालय स्थापना भइसकेको र हाल चीन–नेपालबीचको निकासी–पैठारी पनि यही नाकाबाट भइरहेको प्रमुख प्रवेश बडुवालले जानकारी दिनुभयो।

पोखरा र काठमाडौँबाट हवाई तथा सडक मार्ग हुँदै कोरला पुग्न सकिन्छ। काठमाडौँबाट २५ मिनेटमा पोखरा, त्यहाँबाट अर्को २५ मिनेटमा जोमसोम पुगिन्छ। त्यसपछि करिब ९६ किलोमिटर यात्रा पार गरी लोमान्थाङ हुँदै साढे चार घण्टामा कोरला पुग्न सकिन्छ।

कोरला नाकाबाट चीनको नेचुङ–लिजी भन्सार हुँदै ५८ किलोमिटर पर सिगात्से प्रान्तको झोम्वासेन पुगिन्छ। त्यहाँबाट ३०० किलोमिटरको यात्रापछि करिब छ घण्टामा कैलाश तथा मानसरोवर पुगिन्छ। तिब्बती सडक सञ्जाल र सवारीसुविधा आधुनिक भएकाले यात्रा सहज हुने जनाइएको छ।

समुद्र सतहदेखि ६,०३३ मिटर उचाइमा रहेको कैलाश पर्वतलाई शिवको वासस्थान मानिन्छ। धार्मिक विश्वासअनुसार कैलाश पर्वत परिक्रमा र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्त हुने मान्यता छ। अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालका अनुसार यो पहिलोपटक कार्यालयमार्फत भिसा लगाएर १३ जनप्रतिनिधिको टोली चीन गएको हो।

नेपाल आउने चिनियाँ र अन्य विदेशी नागरिकका लागि १५० दिनसम्मको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराइने तयारी पनि भइरहेको छ। तर, सरकारद्वारा उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी पर्यटकका लागि तोकिएको ५०० अमेरिकी डलर प्रवेश शुल्क चुनौतीका रूपमा रहेको बताइएको छ।

Facebook Comments Box