भोजपुरमा पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’
भोजपुर, २१ कात्तिक – देश–विदेशमा आफ्नो अलग पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । परम्परागत सीप र नयाँ प्रविधिको संयोजनमा यहाँका कालीगढहरूले मागअनुसारका विभिन्न डिजाइनका खुकुरी तयार गर्दै आएका छन् ।
स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा उत्पादन हुने खुकुरीको मूल्य न्यूनतम रु ५०० देखि अधिकतम रु ५२ हजारसम्म पर्छ । उहाँले भन्नुभयो, “भोजपुरे खुकुरीको माग नेपालभित्र मात्र होइन, विदेशबाट पनि आइरहेको छ । साधारणदेखि विशेष डिजाइनका खुकुरीहरू ग्राहकको मागका आधारमा तयार पारिन्छन् ।”
उच्च मूल्यका खुकुरी बनाउनका लागि उत्कृष्ट गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिन्छ । बजारमा दैनिक माग धान्ने क्षमता भए पनि कहिलेकाहीँ ठूलो परिमाणको अर्डर आउँदा उत्पादन पुर्याउन कठिन हुने श्रेष्ठको भनाइ छ । परम्परागत हस्तकला र आधुनिक उपकरणको प्रयोगबाट बन्ने भोजपुरे खुकुरी नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा आज पनि परिचित छ ।
भोजपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू यो खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गर्छन्, जसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा सघाउ पुगोस् भन्ने स्थानीयको विश्वास छ । पहिले पूर्ण रूपमा हातका औजार प्रयोग गरी बनाइने खुकुरी अहिले आधुनिक मेसिन र उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ ।
फलाम तताउने, धार तेज पार्ने, बिँड लगाउने, र दाप बनाउने काम अझै पनि स्थानीय कालीगढहरूले आफ्नै सीपले गर्दै आएका छन् । भोजपुरे खुकुरी अहिले नेपालका विभिन्न सहरहरूसँगै अमेरिका, बेलायतलगायत मुलुकमा पनि लोकप्रिय बन्दै गएको व्यवसायीहरूको भनाइ छ ।

