पर्यटकको पर्खाइमा नदैगुफा
जुम्ला, ९ कात्तिक – तिला गाउँपालिका–९ माथिल्लो खोप्री गाउँमा अवस्थित नदैगुफा धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल मानिन्छ । तर पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण यो आकर्षक गन्तव्य अझै पनि पर्यटकको पर्खाइमा छ ।
धार्मिक दृष्टिकोणले ऐतिहासिक महत्व बोकेको नदैगुफा अहिले पनि ओझेलमा परेको छ । प्रचारप्रसार र यातायातको अभाव यस क्षेत्रको प्रमुख चुनौती बनेको वडाध्यक्ष धनबहादुर रावत बताउनुहुन्छ । उहाँका अनुसार हाल गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग निर्माण भइसकेको छ, तर गाउँसम्म पुग्ने भरपर्दो सडक मार्ग अझै आवश्यक छ । यस वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको र वडाले धार्मिक तथा स्थानीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।
नदैगुफा वरिपरिका डाँडाहरूबाट अग्ला हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हिमशृङ्खलाको सुन्दर दृश्य, प्राकृतिक सौन्दर्य र गुफाको ऐतिहासिक पृष्ठभूमिले गर्दा यो स्थान आन्तरिक र बाह्य दुवै पर्यटकको सम्भावित आकर्षण केन्द्र बन्न सक्छ ।
वडाध्यक्ष रावतका अनुसार नदैबाट देखिने रमणीय दृश्यले यहाँ आउने जो–कसैको मन लोभ्याउने गरेको छ । गत वर्ष संघीय सरकारको सशर्त अनुदानबाट रु ९० लाख विनियोजन गरिएको थियो । सो बजेटबाट नदैगुफा मन्दिर संरक्षण, धर्मशाला र पदमार्गलगायतका भौतिक संरचना निर्माणका काम सम्पन्न गरिएको छ ।
करीब दुई सय मिटर लामो नदैगुफा परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकारको रहेको छ, र गुफाबाट सधैं पानी बग्ने गर्छ । ऐतिहासिक र धार्मिक महत्वले भरिपूर्ण यस गुफालाई व्यवस्थित धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार पालिका गम्भीर तयारीसहित अघि बढिरहेको छ ।
तिला–९ की आमकला थापा भन्छिन्, “यदि गाउँसम्म सडक सञ्जाल विस्तार गर्न सकियो भने, नदैगुफासम्म आन्तरिक र बाह्य दुवै पर्यटक सहज रूपमा पुग्न सक्नेछन् र यसले गाउँको आर्थिक अवस्था पनि सुदृढ हुनेछ ।” स्थानीयवासीका अनुसार, नदैगुफाको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सके यस क्षेत्रलाई लोकप्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिनेछ ।
यसै वर्षदेखि गुफाको पहिचान बढाउने उद्देश्यले होर्डिङ बोर्ड र नक्सा निर्माणको काम सुरु गर्न लागिएको वडा कार्यालयले जनाएको छ । हाल वडाका पाँच गाउँमध्ये माथिल्लो र तल्लो खोप्री गाउँसम्म सडक सञ्जाल अझै पुगेको छैन, जसले पर्यटक आगमनमा मुख्य अवरोध खडा गरेको छ । तथापि, स्थानीय सरकारको पहल र समुदायको सक्रियतासँगै नदैगुफा जुम्लाको महत्वपूर्ण धार्मिक पर्यटन केन्द्र बन्ने आशा लिइएको छ ।

