हमासले हत्या गरेका विपिन जोशीको शव आज स्वदेश ल्याइँदै
काठमाडौँ, ३ कात्तिक – हमासद्वारा बन्धक बनाइएका बेला मारिएका विपिन जोशीको शव आज (सोमबार) दिउँसो नेपाल ल्याइँदै छ। सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्नेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली अर्पण गर्न विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। मन्त्री घिसिङले विपिनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भने,
“यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो। उहाँको अकाल निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”
उनका अनुसार विपिन जोशीले अन्तिम क्षणमा देखाएको अपूर्व साहस र त्यागले धेरै साथीहरूको जीवन बचाएको उल्लेख गर्दै उनले थपे,
“विपिनको वीरता उहाँको जीवनको सर्वोच्च विरासत हो। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा सधैं जीवित रहनुहुनेछ।”
परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव नेपाली सेनाको संयोजनमा कञ्चनपुरस्थित घरसम्म पुर्याइनेछ।

