तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

तानसेन (पाल्पा), २ कात्तिक – हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा पाल्पाका बजारहरूमा झिनियाँ रोटीको व्यापार निकै चहलपहलपूर्ण बनेको छ। तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने परम्परा रहेकाले यसको माग हरेक वर्षजस्तै यसपालि पनि तीव्र रूपमा बढेको हो।

यतिबेला पाल्पाका महिला उद्यमीहरू झिनियाँ बनाएर बेच्नमै व्यस्त छन्। तिहारमा आवश्यक परिकारका रूपमा झिनियाँ रोटीका साथै चिनीसहितका अन्य मीठा परिकार पनि बजारमा उपलब्ध छन्। घरमै बनेका यस्ता परिकारको माग बढेसँगै घरेलु महिला उद्यमीहरूले यस सिजनमा मनग्य आम्दानी गर्दै आएका छन्।

तानसेन, निस्दीको गल्धा, रामपुर, रम्भा, माथागढी, रिब्दीकोट र बगनासकालीलगायतका गाउँपालिकाका महिलाहरू अहिले झिनियाँ उत्पादन र बिक्रीमा सक्रिय छन्। उनीहरूका अनुसार झिनियाँ बेचेर चाडपर्व मनाउन, घरखर्च चलाउन र केहीले त सानो उद्यम विस्तार गर्न समेत सकेका छन्।

तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा अहिले झिनियाँ बनाउने र सजाउने काम चलिरहेको छ। नेवारी समुदायमा विशेष चलनमा रहेको झिनियाँ रोटी तिहारका लागि अनिवार्य तयारी परिकारका रूपमा राखिने परम्परा छ। बजार, गल्ली र पसलहरूमा रङ्गीविरङ्गी झिनियाँ सजाइएका छन्।

टक्सारटोलकी महिला उद्यमी निर्मया श्रेष्ठ करिब १० वर्षदेखि झिनियाँ व्यवसायमा संलग्न छिन्। उहाँका अनुसार दसैँ र तिहारको समयमा झिनियाँको बिक्री अत्यधिक हुने भएकाले वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गर्छ।

यस्तै, नारायणीदेवी बज्राचार्यले भने झिनियाँ व्यवसायमा तीन दशकभन्दा बढी समय बिताइसक्नुभएको छ। उहाँले भन्नुभयो, “दसैँ र तिहारका बेला मात्रै साढे तीनदेखि छ लाख रुपैयाँसम्मको झिनियाँ बिक्री हुन्छ। बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके राम्रो आम्दानी हुन्छ।”

टक्सारटोलका अन्य नेवारी महिलाहरू पनि झिनियाँ बनाएर राम्रो आम्दानी गरिरहेका छन्। नेवारी बस्तीका धेरै घरमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योग सञ्चालनमा छन्। तिहारमा दाजुभाइलाई टीका लगाएर झिनियाँ, सेलरोटी र फिनी रोटी खुवाउने परम्पराले यो व्यवसायलाई अझ फस्टाएको छ।

रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठका अनुसार, “रोटीको माग अत्यधिक छ। माग धान्नै नसक्ने अवस्था छ। आफैँले उत्पादन गरेको नपुग्दा अन्य महिलाको सहयोग लिन्छौं।” पाल्पामा उत्पादन भएका झिनियाँ रोटीहरू गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की र तनहुँसम्म आपूर्ति हुने गरेको व्यवसायीहरूको भनाइ छ।

स्थानीय उद्यमीहरूले तिहारको समयमा झिनियाँ व्यवसायले घरपरिवारको आम्दानीमा सघाउ पुर्‍याउनुका साथै परम्परागत परिकारको संरक्षणमा पनि योगदान दिइरहेको बताएका छन्।

Facebook Comments Box