तिहारको पूर्वसन्ध्यामा जनकपुरधाममा तनाव, प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम, १ कात्तिक – तिहारको पूर्वसन्ध्यामा जनकपुरधामको सोनारपट्टी क्षेत्र शनिबार राति तनावग्रस्त बनेको छ। संजय ठाकुरले हालै सञ्चालनमा ल्याएको नयाँ ज्वेलर्समा प्रहरीले छापा मार्न जाँदा प्रहरीले र स्थानीय व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास समेत प्रयोग गरेको छ।

झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले जानकारी दिएका छन्। उनका अनुसार भीड नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रहार गरेको हो।

डिएसपी बमका अनुसार विशेष सूचनाका आधारमा राति करिब ८ बजे सिभिल ड्रेसमा प्रहरी टोली सोनारपट्टी पुगेको थियो। सो क्रममा संजय ठाकुरको ज्वेलर्सबाट बिल–विजकबिनाको करिब ७ किलो चाँदी बरामद गरिएको बताइएको छ। उनी हाल जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन्।

प्रहरीको भनाइअनुसार बरामद चाँदी मुचुल्का गर्न सुनचाँदी व्यवसायी संघका प्रतिनिधिलाई बोलाइएपछि अध्यक्ष सुरेन्द्र भण्डारी आएर चाँदी लैजान नदिने अडान लिएपछि विवाद सुरु भयो। डिएसपी बमका शब्दमा —

“हामीले बिल–विजक खोज्यौं, केही थिएन। त्यसपछि बरामद चाँदी लैजान खोज्दा सुरेन्द्र भण्डारी आएर व्यवसायीहरूलाई उक्साएर प्रहरीले माथि आक्रमण गर्न लगाउनुभयो, त्यसपछि झडप भयो।”

तर व्यवसायी पक्षले भने प्रहरीमाथि आरोप उल्ट्याएको छ। जनकपुर उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितका अनुसार धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले “आतंक सिर्जना” गरेको हो। उनका अनुसार सुरुमा एक जना सिभिल प्रहरी “पायल बनाउन आएको” भन्दै पसलमा पुगेका थिए।

त्यसपछि पाँच जना सिभिल प्रहरी भित्रिए र सबै चाँदी बुझाउन दबाब दिए। केहीबेरमै २०–२५ जना प्रहरी बल थपिएपछि अवस्था बिग्रिएको पण्डितको भनाइ छ। उनले भने,

“धनतेरसको अघिल्लो रात यस्तो प्रहरी कार्रवाईले व्यवसायीमा त्रास फैलायो। हामीले शान्तिपूर्ण रूपमा प्रश्न गर्दा उल्टै प्रहरीले लाठीचार्ज, हवाइफायर र अश्रुग्यास प्रहार गर्‍यो। त्यही क्रममा संघका अध्यक्ष घाइते हुनुभयो।”

व्यवसायीहरूले प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका छन्। कारबाही नभए कडा आन्दोलनमा जाने चेतावनी उद्योग वाणिज्य संघले दिएको छ। उता, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरीको छापा सम्बन्धी कुनै औपचारिक जानकारी आफूलाई नआएको बताएका छन्।
उनले भने,

“प्रहरीले समन्वय नगरी छापा मारेको हो। यदि समन्वय गरिएको भए सशस्त्र प्रहरी पनि संलग्न हुनेथियो, जसले परिस्थिति सहज बनाउन सक्थ्यो।”

डिएसपी बमले भने राजश्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरी छापा मारिएको दाबी गरेका छन्।

“राजश्व छली गरेर चाँदी कारोबार भइरहेको सूचना आएको थियो। राजश्व अनुसन्धानसँग संयुक्त छापा प्रस्ताव गरेका थियौं, तर उनीहरूले हामीलाई नै अघि बढ्न भनेपछि प्रहरी मात्र गएको हो,” बमले स्पष्ट पारे।

धनुषाका एसपी नरहरी रेग्मीको हालै सरुवा भई प्रस्थान गरेका कारण जिल्ला प्रहरीको नेतृत्व हाल डिएसपी बमले सम्हालिरहेका छन्। घटनापछि सोनारपट्टी क्षेत्रमा अहिले पनि सुरक्षा सतर्कता बढाइएको छ।

Facebook Comments Box