विद्युत् विस्तारपछि गाउँ–गाउँमा चल्छन् ‘विद्युतीय मिल’
भोजपुर, ९ असोज – भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेमा विद्युत् विस्तार भएपछि ग्रामीण बस्तीको दैनिकीमा ठूलो परिवर्तन आएको छ। अघिसम्म अँध्यारोमा रात कटाउने बाध्यता भोगेका स्थानीय अहिले उज्यालोसहित आधुनिक उपकरण प्रयोग गरेर जीवन सहज बनाउन थालेका छन्।
विद्युत् पुगेपछि गाउँ–गाउँमा विद्युतीय मिल सञ्चालनमा आएपछि कुटानी–पिसानीका लागि टाढा जानुपर्ने झन्झट अन्त्य भएको वडासदस्य जानुका सुयलले बताउनुभयो। वडाध्यक्ष एकराज आचार्यका अनुसार कुटानी–पिसानी सहज बनाउन गाउँपालिकाले हालसम्म १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ। “वडाभर विद्युत् पु¥याएका छौँ। त्यसको उपयोगले दैनिकी सजिलो बनाउनेतर्फ जोड दिएका छौँ,” उहाँले भन्नुभयो।
मिल वितरणसँगै उद्यमशीलता विकासलाई प्रोत्साहन दिइएको आचार्यको भनाइ छ। गाउँमा उत्पादित कोदो, गहुँ, जौ, फापरजस्ता रैथाने बालीलाई प्रशोधन गरी ‘बैकुण्ठेको उत्पादन, काठमाडौँको भान्सामा’ भन्ने नारासहित बजार पुर्याउने योजना अघि बढाइएको छ। विद्युतीकरणपछि स्थानीय दैनिकी सहज मात्र नभई सूचनाको पहुँच पनि बढेको वडासदस्य जयन्द्रकुमार राईले बताए। उद्यमशीलतासँगै महिलाको घरायसी काममा समेत सहजता आएको उहाँको भनाइ छ।

