पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा वितरण

धुलिखेल, ५ भदौ

करिब पाँच दशकदेखि प्रतीक्षा गरिरहेका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकले अन्ततः जग्गाधनी प्रमाण पुर्जा हात पारेका छन् । लामो समयदेखि रसिदको भरमा खेतीपाती गर्दै आएका स्थानीयवासीले पहिलोपटक लालपुर्जा पाएपछि गाउँभरि खुसीको माहोल छाएको छ ।

भुम्लु–८ की ८३ वर्षीया जयकुमारी तामाङले खेती गर्दै आएको जग्गाको प्रमाण पुर्जा हातमा पाउँदा आफ्नो जीवनकै ठूलो खुसी महसुस भएको बताउनुभयो । “५० वर्षसम्म रसिदको भरमा मात्र जमिन भोगचलन गर्नुपरेको थियो, अब बल्ल प्रमाण पुर्जा पाएँ”, उहाँले भन्नुभयो ।

यस्तै, वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठ पनि विसं २०३२ मा नापीका क्रममा सिमाना विवादका कारण पुर्जाविहीन भएका थिए । आधा शताब्दीपछि पुर्जा हात पर्दा उहाँको अनुहारमा हर्ष झल्किएको छ । “अब जग्गा किनबेचदेखि बैङ्किङ कारोबारसम्म सजिलै गर्न सकिन्छ”, उहाँले भावुक हुँदै भन्नुभयो ।

वडा नं ७ फलाँटे पीपलटारका ८२ वर्षीय गोपिकृष्ण उप्रेतीले पुर्जा नहुँदा जीवनभर पशुपालन र व्यवसायमा ठूलो अवसर गुमाउनुपरेको पीडा सुनाउनुभयो । “काम गर्न सक्ने उमेरमा पुर्जा भएको भए आम्दानी बढाउन सकिन्थ्यो । ढिलो भए पनि अब पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

त्यस्तै, ७८ वर्षीय तोरणबहादुर क्षेत्रीले आफ्नो जस्तै बाँकी सबै नागरिकले पनि छिट्टै प्रमाण पुर्जा पाओस् भन्ने रहर व्यक्त गर्नुभयो । उहाँका अनुसार तत्कालीन फलाँटे र भुम्लुटार गाउँपञ्चायतबीचको सिमाना विवादका कारण विसं २०३२ सालदेखि नै यो समस्या जटिल बनेको थियो ।

यसपटक वडा नं ७ का १७६ र वडा नं ८ का २०३ जनाले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन् । वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङका अनुसार विगतमा धेरै प्रयास भए पनि काम अघि बढ्न सकेको थिएन । विसं २०८१ देखि सुरु गरिएको प्रयास सफल भई हालै सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले ५० वर्षदेखि पुर्जाविहीन नागरिकलाई पुर्जा वितरण गर्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । “यो दिन ल्याउन सबैको भूमिका महत्वपूर्ण रह्यो”, उहाँले भन्नुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र नापी विभागका महानिर्देशक प्रकाश जोशीले सिमाना विवादका कारण रोकिएको काम अब संयुक्त प्रयासबाट सफल भएको बताए ।

हालसम्म भुम्लु गाउँपालिकाबाट करिब १,५०० भन्दा बढी आवेदन परेकामा करिब ४०० प्रमाण पुर्जा वितरण भइसकेको छ । यसका लागि नापी विभागले स्थानीयस्तरमै कार्यालय स्थापना गरी दुई टोलीमार्फत काम अघि बढाइरहेको छ ।

मङ्गलबार आयोजना गरिएको विशेष कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले स्थानीयवासीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले बाँकी नागरिकलाई पनि छिट्टै पुर्जा वितरण गरिने जनाएको छ ।

Facebook Comments Box