बालकृष्ण खाँणलाई थुनामा पठाउने न्यायाधीश रुकुमकोट सरुवा

काठमाडौं, ५ असोज – नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालतको कठघरामा उभ्याउन भूमिका खेल्ने प्रहरी अधिकारीहरु यसअघि नै आफ्नो कार्यक्षेत्रबाट खेदिइसकेका छन्।

एक वर्ष पनि काम गर्न नपाउँदै उनीहरु नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा तानिएका ‘भीआईपी’हरुको घानमा परेका थिए। त्यस प्रकरणका असर त्यतिमै सीमित रहेनन्। अदालतमा समेत यसको असर देखिएको छ।

न्यायपरिषदको असोज ६ गते बसेको बैठकको निर्णय हेरौँ। त्यसदिन न्यायपरिषदले एक जना उच्च अदालतका र १८ जना जिल्ला न्यायाधीशको सरुवा गरेको थियो। जिल्ला अदालतमै ३६ जना न्यायाधीश नियुक्तिको सिफारिस पनि भएको थियो।

सरुवामा पर्नेमध्ये एकजना यस्ता न्यायाधीश थिए, जो आफूले कानुनबमोजिम गरेको कामका लागि ‘दण्डित’ हुँदै थिए। ती हुन्, काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपाने। उनलाई रुकुमकोट जिल्ला अदालतमा सरुवा गरिएको छ।

उनको सरुवा अस्वाभाविक छ। किनभने, न्यायाधीश न्यौपाने काठमाडौं जिल्ला अदालतमा २०७९ साउनमा मात्रै सरुवा भएर आएका थिए।कुनै असामान्य कारण नपरी दुई वर्षभन्दा कम अवधिमा न्यायाधीशको सरुवा हुँदैन।

न्यौपाने काठमाडौंमा हाजिर भएर काम थालेको वर्ष दिन पनि पुगेको छैन। न्यौपानेका विरुद्धमा कुनै उजुरी वा काममा कैफियत देखिएको थिएन। बरु उनको इजलासबाट साहसिक प्रकारका आदेश र फैसला भएका थिए।

Facebook Comments Box