देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना
काठमाडौं, २१ साउन – मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो।
‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको छ’, उनले भनिन्। मौसमविद्का अनुसार मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ आयो भने त्यो नेपाल नजिक हुनेछ र वर्षाको मात्रा बढ्छ। त्यो रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्यो भनेचाहिँ नेपालभन्दा केही टाढा हुन्छ र यता पानी पर्ने क्रम केही कम हुन्छ।
मौसम महाशाखा अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। ‘गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ’, बुलेटिनमा भनिएको छ। महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

