रेडियो सगरमाथाको कायक्रम तामाङ काइ १७ वर्षमा

काठमाडौँ, २५ वैशाख – तामाङ काइ एउटा साप्ताहिक रेडियो पत्रिका हो । तामाङ भाषा, साहित्य, संस्कृति, कला र धर्मको संरक्षणका साथै तामाङ समुदायले व्यहोरिरहेका समस्याहरुको उजागार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले २५४८औ बुद्ध जयन्तीको दिन अर्थात २०६१ बैशाख २२ गते मंगलबारका दिन बिहान ८ ः २० देखि तामाङ काइ रेडियो सगरमाथामा शुरु भएको हो ।

तामाङ भाषा र साहित्यको विकास तथा सम्बद्र्धनका लागि २०५९ सालमा स्थापित तामाङ साहित्यिक संस्था तामाङ डाजाङ र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति तामाङ काइ (तामाङ आवाज) ले आज आफ्नो प्रसारणले १७ वर्ष पुरा भएको छ ।

स्थापना देखि नै तामाङ काइले विभिन्न स्तम्भ अन्र्तगत कार्यक्रम सन्चालन गर्दै आइरहेका छन् । विशेष स्तम्भहरुमा भाषा, साहित्य, संस्कृति र संस्कार, इतिहास, थाङ्कु, महिला, बालबालिका र समसमायिक विषयहरुमा रिर्पोट, अन्र्तवार्ता र समाचार तयार गरि तामाङ काइबाट प्रसारण गरिरहेका छन् ।

विभिन्न विषयमा रिपोर्ट प्रसारण गर्नु, अन्र्तवार्ता र वहस मार्फत समस्याको समाधान खोज्ने प्रयास गर्नु, परम्परागत थाङ्कु कलाको विषयमा चर्चा गर्नु, कुनै पनि सामाजिक कार्यहरुको समाचार प्रसारण गर्नु र पुराना गीतसंगीतलाई प्राथामिकता दिनु नै तामाङ काइको मुख्य विशषता हो ।

बुद्ध योन्जन लामाको संयोजकत्वमा रहेको तामाङ काइ हाल शनिवार बिहान १० देखि ११ बजे सम्म प्रसारण भइरहेको छ । १७ वर्ष सम्म आइपुग्दा ८४९ औं श्रङ्खला पुरा गरिसकेका छन् ।

रेडियो सगरमाथाबाट तामाङ काइको लागि निःशुल्क समय उपलब्ध गराउने भए पछि तामाङ डाजाङ साहित्यिक संस्थाले स्वयम् सेवकको रुपमा जनशक्ति तयार पार्दै तामाङ काइ प्रसारण शुरु गरेको हो । समसमायिक तथा खोज अनुसन्धान मुलक सामग्रीहरु प्रसारण गर्दै आएको तामाङ काइ समुदायकै पहिलो र उत्कृष्ट कार्यक्रम हुन पुगेको छ । जसले गर्दा २०६६ सालमा १६ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ काइ नगद पुरस्कार सहित सम्मान पनि भएको थियो ।

तामाङ काइ शुरुगर्दा बुद्ध योन्जनको संयोजकत्वमा, सन्चु ब्लोन, भक्तबीर योन्जन, अर्जुन ग्लान र म्हार्साङ ङ्याङ्जो सहित ५ जनाको जनाशक्ति रहेको थियो । हाल बुद्ध योन्जन लामा एक्लैले कसैको भौतिक र आर्थिक सहयोग बिना नै रेडियो पत्रिका तामाङ काइ सन्चालन गरिहरेको छ । बीच बीचमा धेरै साथीहरु आए गए । आर्थिक स्रोत नभएका कारण ६ महिना, १ वर्षमा नै छोड्नु पर्ने बाध्यता तामाङ काइमा रहेको छ । यस खालको समस्यालाई अबको दिनहरुमा कसरी समाधान गर्न सकिन्छ ? भन्ने तिर रेडियो सगरमाथा र तामाङ डाजाङ गम्भीर हुनु जरुरी छ ।

अन्तमा, तामाङ काइ आजको दिन सम्म आइपुग्नुमा तामाङ डाजाङ, रेडियो सगरमाथा, तामाङ समुदाय, संरक्षक, सल्लाहकार, कार्यक्रम अनुगमन टोली, बुद्धिजिवी, समाजसेवी, तामाङ कलाकार, कार्यक्रम सुनेर प्रतिक्रिया र सुझाब दिनुहुने सम्पूणर् स्रोताहरुको ठूलो योगदान रहेको छ । आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

Facebook Comments Box