फिदिम र याङवरकमा समुदायमा सङ्क्रमण
पाँचथर, २५ वैशाख – फिदिम नगरपालिका र याङवरक गाउँपालिकामा समुदायमा ‘न्यू भेरियन्ट’को कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । लामो समयदेखि जिल्ला बाहिर नगएका व्यक्तिमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।
नगरपालिकामा फिदिम बजारका चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । याङवरकमा समेत पछिल्लो पटक भेटिएका तीन सङ्क्रमित जिल्ला बाहिर नगएको पाइएकाले समुदायमा सङ्क्रमण देखिएको हो । “सबैले त जिल्ला बाहिर गए÷नगएको बताउनुभएको छैन । तर धेरैजना सङ्क्रमणको लक्षण देखापर्ने समयमा जिल्ला बाहिर नगएको पाएका छौँ”, सुवेदीले भन्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयअनुसार बिहीबारसम्म जिल्लामा १२ सङ्क्रमित थिए । शुक्रबार २३ को एन्टिजेन परीक्षण गरिएकामा याङवरकमा तीन र नगरपालिकामा दुई सङ्क्रमित थपिएका छन् । शुक्रबार नै फालेलुङ–२ मा २२ को पीसीआर परीक्षणका लागि स्वाब लिइएको भए पनि नतिजा आउन बाँकी छ । शनिबार भने परीक्षण नभएको छैन । बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविकामा सङ्क्रमण देखिएपछि समुदायस्तरमा सङ्क्रमण देखिएको कार्यालयको भनाइ छ ।
समुदायस्तमा सङ्क्रमण देखिएको भन्दै स्थानीयवासीले परीक्षणको दायरा फराकिलो गर्न माग गरेका छन् । परीक्षण बढाउन स्वास्थ्य कार्यालयले २०० थान एन्टिजेन किट खरिद गरेको छ । “उपलब्ध किटले नधाने पनि तत्काललाई परीक्षण बढाउन लागेका हौँ”, सुवेदीले भन्नुभयो, “एन्टिजेन परीक्षणमा तत्कालै नतिजा आउने भएकाले पीसीआर परीक्षणलाई घटाउँदै लगेका छौँ ।” पीसीआर विधिबाट परीक्षण गर्न यहाँ सङ्कलन गरिएको स्वाब तराईका जिल्लामा पठाउनुपर्ने र त्यहाँ पालो कुरेर परीक्षण हुँदा ढिलो हुने गरेको छ ।
स्वास्थ्यमा समस्या हुने यहाँका सङ्क्रमितलाई प्राथमिक उपचार दिनेगरी अक्सिजन सहित १० बेडको आइसोलेशन जिल्ला अस्पतालमा तयार पारिएको छ । समुदायमा सङ्क्रमण हुनसक्ने भन्दै स्वास्थ्य कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न र सरकारी आग्रहअनुसार मात्रै मानवीय गतिविधि गर्न अपील गरेको छ ।

