लोकदोहोरी गायक राजु परियारको स्वर रहेको नयाँ गीत विवादमा
काठमाडौँ, ५ असार – लोकदोहोरी गायक राजु परियारको स्वर रहेको नयाँ गीत विवादमा तानिएको छ। जातीय विभेदविरुद्ध भनिएको डीआर सुजनको ‘नेपाली हाम्रो जात’ गीत विवादमा तानिएको हो। गीतमा ‘बाहुन क्षेत्री मुर्दावाद’, ‘दलित कोटा खारेज गर्’, ‘अपराधीलाई फाँसी दे’ जस्ता नारा राखिएपछि सामाजिक सञ्जालमा गीतको आलोचना भइरहेको छ।
एक जातले अर्को जातलाई मुर्दावाद भन्दै गाली गरेको दृष्य राखिएपछि गीतले सामाजिक सद्भाव भड्काएको कमेन्टहरू प्राप्त भएका छन्। उक्त गीतबारे गायक परियारले सामाजिक सञ्जजाल फेसबुकमा आफूलाई झुक्काइएको स्पष्टीकरण दिएका छन्।
उनले आफूलाई अन्तरा मात्रै गाउन दिइएको र पछि क-कसले के गायो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। उनले गीतकार तथा गायक सुजनसँग सम्पर्क गर्न खोजेको तर सम्पर्क हुन नसकेको बताएका छन्। उनले गीतको आपत्तिजनक भिडिओ सेन्सर गरिदिन सर्जक र संघसंस्थालाई अनुरोध गरेका छन्।
‘गीत रेकर्ड हुदा मलाई मैले गाउने गीतको अन्तरा मात्रै दिनुभयो पछि क-कस्ले के गाउनुभयो मलाइ जानकारी भएन। भोलि अरुले गाउनु भएछ!,’ उनले भनेका छन्, ‘सो गीतका सर्जक डीआर सुजनसँग सम्पर्क हुन सकेको छैन र यस किसिका गीत संगीत दिएर मलाई विवादमा ल्याउने काम नगरिदिन हुन सम्बन्धित सबैमा अनुरोध गर्छु।’
उनले सर्जकलाई सामाजिक मर्यादा ख्याल राख्न अनुरोध गर्दै भनेका छन्, ‘गीतको आपत्तिजनक भिडिओलाई सेन्सर गरिदिन हुन पनि सम्बन्धित सर्जक र संघ संस्थाहरूमा अपिल गर्छु।’ सुजनको शब्द, संगीत, कथा र निर्देशन रहेको यो गीतमा सुजनसँगै राजु परियार, हेमन्त कान्छा रसाइली र धर्म गन्धर्वको स्वर रहेको छ।
सार्वजनिक म्युजिकल भिडिओमा सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसी, मुकुन्द मैनाली, इश्वरी बराल लगायत कलाकारले अभिनय गरेका छन्।

