नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै
काठमाडौँ, २९ चैत – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज काठमाडौँमा चुनाव हुँदै छ। महासंघको निर्वाचन कार्यक्रमअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले बिहान ८ बजे मतदान सुरु हुनेछ। अपराह्न ४ बजे सकिने मतदानको मतगणना आजै अपराह्न ५ बजे थालिने र नतिजा घोषणा गर्ने कार्यतालिका छ।
महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभा हिजो होटल याक एन्ड यतीमा उद्घाटन गरिएको हो। साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कूल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कूल ६४ पद छन्। निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिएका छन् । अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका हुन्। यी तीन उम्मेदवारमध्यबाट १ जना वरिष्ठ उपाध्यक्ष चुनिनेछन्।
यसबाहेक जिल्लानगर, वस्तुगत र एसोसिएटमा गरी ३ उपाध्यक्ष चाहिनेमा ८ जनाको उम्मेदवारी परेको छ। जिल्ला नगरमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गि, सुरकृष्ण वैद्य छन्। एसोसिटमा भरत आचार्य, ज्योत्स्ना श्रेष्ठ छन्। वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिसलाल प्रधान, हेमराज ढकाल छन्।
१ सदस्यको कोटा रहेको कोशी प्रदेशबाट ३ जनाले उम्मेदवारी दर्ता गराउँदा मध्येशबाट २, बागमतीबाट २, गण्डकीबाट २, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट २ जना उम्मेदवार बनेका छन्। यस्तै, लुम्बिनी प्रदेशबाट भने १ जनाको मात्र उम्मेदवारी परेको छ। महासंघको चुनावमा प्रत्येक प्रदेशका तर्फबाट समान १/१ जनाको कोटा हुन्छ। यसअनुसार लुम्बिनीबाट भने सर्वसम्म चयन भएका छन्।

