आजदेखि तुलनात्मक रूपमा वर्षा कम हुने, एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना

काठमाडौं, १९ चैत – आजदेखि तुलनात्मक रूपमा वर्षा कम हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज देशका पहाडी भेगमा वर्षाको सम्भावना भए पनि हिजोको जस्तो पानी पर्ने छैन।  मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला पहाडी भेगमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम सफा छ।

मौसम महाशाखाको बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भेगका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

‘आज हिजोको जस्तो छैन’, मौसमविद् मानन्धरले भनिन्, ‘कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का, छिटपुटको वर्षाको सम्भावना छ।’ उनका अनुसार कोशी प्रदेशमा पनि पहाडमा वर्षाको सम्भावना बढी छ भने तराईमा कम। बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थान भन्नाले जहाँ पनि वर्षा हुनसक्छ।

‘आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक/छिटपुट वर्षाको सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्, ‘तर हिजोको जस्तो छैन।’ महाशाखाका अनुसार राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।’

Facebook Comments Box