आजदेखि काठमाडौं उपत्यकाका ३ सहित थप ७ जिल्लामा ‘लकडाउन’

काठमाडौं, १६ वैशाख – आजदेखि ‘लकडाउन’ (निषेधाज्ञा जारी) भएका जिल्लाको संख्या १० पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

यसै क्रममा आजदेखि काठमाडौं उपत्यकाका ३ सहित थप ७ जिल्लामा ‘लकडाउन’ गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

यस्तै आजैदेखि कैलाली, कञ्चनपुर र पर्सामा एक हप्ता तथा रूपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ । बर्दिया, सुर्खेत र कास्कीमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइरहेको छ। बर्दियामा वैशाख १३ देखि, सुर्खेतमा वैशाख १४ देखि र कास्कीमा वैशाख १५ गतेदेखि एक हप्ताका लागि ‘लकडाउन’ गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहर देशैभर भयावह बन्दै गएपछि निषेधाज्ञा गर्ने जिल्लाको संख्या थपिने क्रम जारी छ। यसै क्रममा दाङमा भोलि शुक्रबारदेखि ‘लकडाउन’ गरिँदैछ। निषेधाज्ञाका बेला औषधोपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन जिल्ला प्रशासनले भनेको छ ।

यसैबीच सरकारले अबदेखि निषेधाज्ञाको निणर्य गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

Facebook Comments Box