मनसुनको न्यून चापीय रेखा उत्तर (नेपालतर्फ) सरेकोले आज र भोलि मौसम गडबड हुने र धेरै स्थानमा वर्षा हुने सम्भावना
काठमाडौं, ११ भदौ – अहिले देशका विभिन्न जिल्लामा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बाँके, दाङ कपिलवस्तु, रुकुम, म्याग्दीमा अहिले वर्षा भइरहेको छ। सिन्धुपाल्चोकका पनि दुई स्थानमा वर्षा भइरहेको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर (नेपालतर्फ) सरेको छ। जसले गर्दा आज र भोलि मौसम गडबड हुने मौसमविद् पौडेलले बताए। ‘आज र भोलि मौसम डिस्टर्ब हुने सम्भावना छ’, उनले आज समग्र देशभर मौसम बदली हुने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

