श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना
काठमाडौं, ९ भदौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको छ।
रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिसा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मिसन स्थापना गरेको जानकारी गराएको छ।
‘यसअघि रोमानिया जाने नेपालीहरुले उताबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि भिसा प्राप्तिका लागि आवेदन दिन छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्थाका कारण धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अतिरिक्त समय र पैसा खर्च हुने गरेको थियो।
यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिसन स्थापना गरिएको’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भिसा आवेदन प्रकृयाको सहजीकरण गर्नेछ। रोमानियन मिसनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ।
नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकहरुले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिसनले तोकेको भिसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन, वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सम्बद्ध सबैमा मन्त्रालयले आग्रह गरेको छ।
साथै, रोमानियन अधिकारीहरुसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएकाे छ।
साथै कसैले पनि यस्ता गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी त्यस्तो सूचना दिन आह्वानसमेत गरेको छ। सूचना दिने व्यक्तिको पहिचान भने पूर्ण रुपमा गोप्य रहने मन्त्रालयले जनाएको छ।

