माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेन

काठमाडौं, १५ चैत – माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसआवद्ध नेविसंघ त्रिवि इकाइको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको यूथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागेको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्ने माग राखेर ताला लगाएको हो ।

यो समस्या समाधानका लागि त्रिविले उच्चस्तरीय छानबिन समितिको गठन गरेको थियो । तर पदाधिकारीमाथि आरोप लागेकोले पदमा बसेर छानबिन नहुने, पदाधिकारीले राजिनामा दिएर मात्रै छानबिन हुनुपर्ने तालाबन्दी गर्ने विद्यार्थीको अडान छ ।

तालाबन्दी गर्ने विद्यार्थीसँग वार्ता गर्न त्रिविले विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन ग¥यो । वार्ता समिति पटक पटक औपचारिक तथा अनौपचारिक वार्तामा बस्यो । तर, समाधानको लागि कुनै निष्कर्ष निस्केन ।

वार्ता समितिका संयोजक पशुपति अधिकारी तालाबन्दी गर्ने विद्यार्थीको माग अप्ठ्यारो भएकोले समाधान नभएको बताउँछन् । ‘बन्दकर्ताले राखेका माग नै अप्ठ्यारो छ । पदाधिकारीको राजिनामा मात्रै निकास त होइन नि’, उनले भने, ‘छानबिन समिति गठन गरेको छ । के को आधारमा राजिनामा दिने भन्ने होला । माग अप्ठ्यारो भएकोले समाधानको बाटो अझै निस्कन सकेको छैन ।’

लामो समयदेखि त्रिविको सेवाग्राही समस्यामा परिरहेकाले अब ताला खोलेर संवाद गर्नुपर्ने उनको भनाइ छ । दुई महिनाभन्दा बढी समयदेखि भएको तालाबन्दीले अनिवार्य अवकास पाएका शिक्षक तथा कर्मचारी मारमा परेका छन् ।

त्रिविमा लामो समयदेखि लागेको तालाबन्दीको विषयमा जानकारी लिएको भन्दै नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले त्रिविमा लागेको ताला केही दिनमा नै खोल्ने गरी निष्कर्षमा पुग्ने बताए ।

उनले भने, ‘विश्वविद्यालयको केन्द्रिय कार्यलयमा लामो समयसम्म ताला लाग्नु दुखद् हो । यसलाई खोल्नको लागि पदाधिकारी पनि गम्भीर देखिएका छैनन् । तर, हाम्रै अग्रसरतामा चाँडै समाधानको उपाय खोज्छौं ।’

Facebook Comments Box